अन्नपूर्ण सुगर मिलले आजदेखि दैनिक एक करोड भुक्तानी गर्ने

आइतबार, ०५ पुस २०७७, १२ : ५९

काठमाडौं- रौतहटमा रहेको अन्नपूर्ण सुगर मिलले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति जारी गर्दै आजदेखि दैनिक रु एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो ।

मिलले दैनिक रु एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्न मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिएका छन् । 

उद्योक वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम रु सत्र करोड रहेको छ । यसैगरी नवलपरासीस्थित इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख भुक्तानी गर्न बाँकी रहेको छ । 

सबैभन्दा धेरै बक्र्यौता रकम रहेको श्रीराम सुगर मिलले गत शुक्रबारदेखि भुक्तानी शुरु गरेको छ । उक्त मिलले सोमबारसम्म बक्र्यौता रकम भुक्तानी गरिसक्ने उद्योग  मन्त्रालयमा सहमति पनि गरिसकेको छ । 

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । 


 

आइतबार, ०५ पुस २०७७, १२ : ५९

प्रतिक्रिया