काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई बिजुली बेच्ने अनुमति दिएको छ । भारतको डीआरपीएल नामक वितरण कम्पनीले केही दिनअघि बिजुली आपूर्ति गर्न टेण्डर आव्हान गरेपछि प्राधिकरणलाई पनि प्रतिस्पर्धामा भाग लिन पाउने गरी सोमबार बसेको आयोगको बैठकले बिजुली बेच्न अनुमति दिएको हो ।
सोमबार बसेको आयोगको बैठकले नेपालको विद्युत् मागमा असर नपर्ने गरी, जगेडा (सरप्लस) को ग्यारेन्टी गरेर तथा बत्ती आवश्यक परेको बेला १० मिनेटभित्र आपूर्ति हुन सक्ने (स्पिनिङ रिजर्भ राखेर) गरी बिजुली बेच्न अनुमति दिएको आयोगका सदस्य डा. रामप्रसाद धितालले बताए ।
डीआरपीएल २५ देखि ७०० मेगावाटसम्म बिजुली आपूर्ति गर्न टेण्डर आव्हान गरेकोमा प्राधिकरणले २५ मेगावाट बिजुली निर्यातका लागि परीक्षणका रुपमा बिजुली बेच्न पहिलोपटक प्रतिस्पर्धात्मक तवरमा भाग लिने छ ।
प्राधिकरण प्रतिस्पर्धामा सफल भयो भने त्यसका विस्तृत विवरण आयोगमा पेश गर्न विद्युत् नियमन आयोगले भनेको छ ।
विद्युत् प्राधिकरण ऐनमा प्राधिकरणले कुनै मुलुकलाई बिजुली बेच्न चाहेमा नेपाल सरकारको पूर्व स्वीकृति लिनुपर्ने प्रावधान छ । सोही अनुसार मन्त्रिपरिषद्ले यसअघि प्राधिकरणलाई बिजुली निर्यात गर्ने अनुमति दिइसकेको छ ।
प्राधिकरणले प्रतिस्पर्धामा भाग लिन भारतको एनभीभीएनमार्फत प्रस्ताव पेश गर्नेछ । उसले वर्षायामका चार महिना ९जूनदेखि सेप्टेम्बरसम्म० २५ मेगावाट बिजुली बेच्न सकिने प्रस्ताव गर्दैछ । के कति रेटमा दिने भन्ने उल्लेख छैन ।
प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले वर्षायामको जगेडा बिजुली खपत गराउने प्रयासस्वरुप प्रतिस्पर्धामा भाग लिन लागेको बताए ।
अहिलेसम्म खुला बजारमा नेपालको बिजुलीले के कति भाउ पाउँछ, थाहै नभएको अबस्थामा यो सफल भयो भने प्राधिकरणको आत्मविश्वास पनि बढ्ने र बजारको स्वाद पनि थाहा हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् । प्राधिकरणले आगामी सोमबारसम्म प्रस्ताव बुझाइसक्नुपर्नेछ ।
प्रतिक्रिया