नेपाल आउने पाईपलाइनमा प्वाल पारेर हजारौँ लिटर डिजल चोरी

३ बर्ष अगाडि

नेपाल आउने पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको छ । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई  बिहारको सिवान, नविगन्जमा फुटाएर हजारौं लिटर डिजेल चोरी भएको हो । 

सो स्थान नेपालका् सीमाबाट एक सय किलोमिटर पर पर्ने भारतीय मिडिया नवभारत टाइम्सले जनाएको छ ।  

भारतीय आयल कर्पोरेसन (आइओसी)ले मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएपछि पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको थियो । 

आइओसीले पाइपलाइनमा आक्रमण भएको जानकारी आएको तर डिजल चोरी भए नभएको विषयमा जानकारी भने नपाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिले पाइपलाइनबाट नियमित रुपमा डिजल आपूर्ति भइरहेको बताए।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ । सो पाइपलाइनबाट हाल डिजेल आउने गर्दछ । नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।

पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने पनि निगमले जनाएको छ । पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरेर कानुनी कारबाही सुरु गरेको जानकारी पाइए पनि विस्तृत विवरण भने आइनसकेको प्रवक्ता उपाध्यायको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया