विकट गाउँमा केन्द्रीय विद्युत

३ बर्ष अगाडि

काठमाडौं - बागलुङ जिल्लाको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको बरेङ गाउँपालिका–४ सल्यानमा नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानीयवासीमा खुशीयाली छाएको हो । 

केन्द्रीय विद्युत् प्रसारणसँगै त्यहाँका ११ अतिविपन्न परिवारलाई निःशुल्क विद्युत्मिटर बक्ससमेत वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इन्जिनीयर शिवनारायण गोशलीले जानकारी दिए । 

“सल्यान गाउँमा आइतबारदेखि विद्युत् बल्न थालेको छ, विपन्न घरधुरीलाई केन्द्रीय विद्युत् सेवाबाट वञ्चित हुन नदिन प्राधिकरणको अभियानअन्तर्गत निःशुल्क मिटर बक्स प्रदान गरिएको हो”, गोशलीले भने, “जिल्लामा हालसम्म ६० प्रतिशत केन्द्रीय विद्युतीकरण भइसकेको र केही महिनामा ८० प्रतिशत विद्युतीकरण गर्ने योजनाका साथ प्राधिकरण लागि परेको छ ।”

सल्यानमा केन्द्रीय विद्युतीकरण गर्न प्राधिकरणले रु ४५ लाख खर्च गरेको छ । केन्द्रीय विद्युत्सेवा सञ्चालनमा आएपछि लामो समयदेखि लघु जलविद्युत्को भरमा रहेका सल्यानवासी केन्द्रीय विद्युत्को पहुँचमा जोडिएका छन् । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै वडाभित्रका १२५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । 

सल्यानको राजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले तीन वर्ष पहिलेदेखि नै बरेङ गाउँपालिका–५ सुखौरमा रहेको ट्रान्सफर्मरमार्फत केन्द्रीय विद्युत् उपभोग गर्दै आइरहेका छन् ।

 योसँगै सल्यानमा पूर्णरूपमा केन्द्रीय विद्युतीकरण भएको वडा सदस्य जनबहादुर खत्रीले जानकारी दिए । घरमा केन्द्रीय विद्युत् आएपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्नका साथै गाउँमा घरेलु उद्योग सञ्चालनका लागि सहज हुने स्थानीयवासी सञ्जु विश्वकर्माले बताए । 

सल्यानमा केन्द्रीय विद्युत् नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रीय विद्युत्को सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ–४ का वडाध्यक्ष लीलाबहादुर खत्रीले बताए । 

लघुजलविद्युत् सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नुपरेको र अब उक्त समस्या टरेको वडाध्यक्ष खत्रीको भनाइ छ । त्यस्तै विद्युत् प्राधिकरणले बरेङ–५ सुखौराका पाँच विपन्न घरपरिवारलाई पनि निःशुल्क विद्युत् मिटर वितरण गरेको वडाध्यक्ष अमरबहादुर शेरपुर्जाले जानकारी दिए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया