अरुण तेस्रो जलविद्युत् आयोजना डेढ वर्ष अगावै सम्पन्न हुँदै

३ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय महत्वको अरुण तेस्रो जलविद्युत् आयोजना निर्धारित मितिभन्दा डेढ वर्षअघि नै सम्पन्न हुने भएको छ । 

२८ वैशाख ०७५ मा शिलान्यास भएको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यअनुसार ०८० सालमा सम्पन्न हुनुपर्ने आयोजना त्यसको डेढ वर्षअघि नै अर्थात् ०७८ को मध्यतिर सम्पन्न हुने निर्माण कम्पनी अरुण तेस्रो पावर डोभलपमेन्ट कम्पनीले जनाकारी दिएको लगानी बोर्डले जनाएको छ । 

आयोजना भारतको सरकारी स्वामित्वको एसजेभिएन लिमिटेडले निर्माण गरिरहेको हो । साथै नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

सेनाको हेलिकप्टरबाट बुधबार बाँध निर्माणस्थल फ्क्सिन्दा र पावर हाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उनीहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

गृहसचिव महेश्वर न्यौपाने, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव शिशिरकुमार ढुङ्गाना, रक्षा सचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अवलोकन गरेको हो ।

उनीहरुले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरे । अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका सिइओ अरुण धिमानले विद्युत गृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराए । उनले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने पनि बताए ।

चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकिएको छ । छ्याङकुटीदेखि चिचिला–३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ । 

परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गरेका थिए । बाँधस्थलमा जयप्रकाश एशोसियट्स निर्माण कम्पनी तथा विद्युत्–गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया