ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

३ बर्ष अगाडि

काठमाडौं - नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ । 

शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।

समूहले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । 

संसदीय दलको नेता चयन भएपछि दाहालले अविश्वास प्रस्ताव ल्याउन ओलीले बाध्य पारेको बताए । अविश्वास प्रस्तावसम्बन्धमा दाहाल–नेपाल समूह कांग्रेसको निर्णय कुरेर बसिरहेको छ।  

शुक्रबारको संसदीय दलको बैठकमा १ सय ११ जना सांसदले हस्ताक्षर गरेको बताइएको छ । दाहाल–नेपाल समूहले संसदीय दलमा समेत बहुमतमा नरहेका प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने जनाएको छ ।

तर ओलीले राजीनामा दिने पक्षमा नभएपछि दाहाल–नेपाल समूहले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यको प्रस्ताव गरेको छ । 

जनता समाजवादी पार्टीले सहयोग गर्ने जनाए पनि कांग्रेसले निर्णय गरिसकेको छैन । दाहालले भावी प्रधानमन्त्रीको विषय एक–दुई दिनमा टुंगो लाग्ने बताएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया