प्रभु बैंकमाथी राष्ट्रबैंकको कारबाही तयारी : आफ्नै सहायक कम्पनीलाई ऋण प्रवाह गरेर सवा २ अर्ब अपचलन गरेको आरोप

विहीबार, ०५ चैत्र २०७७, ०८ : ४९

काठमाडौं । सवा २ अर्ब ऋण अपचलनमा मुछिएको प्रभु बैंकलाई राष्ट्रबैंकले कारबाहीको तयारी गरेको छ । हुण्डी कारोबारका लागि आफ्नै सहायक कम्पनी प्रभु रेमिटलाई सवा २ अर्ब ऋण दिएर अपलचन गरेको प्रभुलाई राष्ट्रबैंकले दोश्रो पटक स्पष्टीकरण सोध्दै कारबाहीको तयारी गरेको हो । 

बैंकका अध्यक्ष देवि भट्टचन र प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनमाथी केन्द्रीय बैंकमा अपचलनको मुद्धा छ । उनीहरुले विदेशमा रहेका नेपालीले प्रभु रेमिटबाट पठाएको पैसा हुण्डिको रुपमा उतै कारोबार गर्ने र यता नेपालमा चाहीँ प्रभु बैंकबाट रेमिटलाई ऋण दिएर रकम अपचलन गरेका थिए । 

हुण्डीको विषयमा भने राष्ट्र बैंकले प्रभु रेमिलाई ५० हजार जरिवाना र सवा २ अर्बको १० प्रतिशतले हुन आउने ब्याज अशुल्ने निर्णय गरिसकेको छ  । राष्ट्रबैंकले अपचलन मुद्धामा बैंकमाथी पनि कारबाहीको अन्तिम तयारी गरेको राष्ट्रबैंक स्रोतले बताएको छ । कारबाहीको तयारी स्वरुप बैंकका अध्यक्ष भट्टचन र सिइओ शेरचनलाई दोश्रो पटक स्पष्टिकरण सोधिएको छ । 

गत माघ २३ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले प्रभु बैंकका सिइओ शेरचन र अध्यक्ष भट्टचनलाई ‘तपाईंलाई कारबाही किन नगर्ने ?’ भनेर सोधेको स्पष्टिकरण को जवाफ चित्त नबुझेको भन्दै फेरी स्पष्टिकरण सोधेको हो ।

वित्तिय संस्था ऐन अनुसार आफै सञ्चालक र संलग्न भएको अर्को कम्पनीलाई कर्जा दिन नपाउने व्यवस्था छ । तर सो कानुनी व्यवस्था विपरित प्रभु मनि ट्रान्सफरले प्रभु बैंकबाट अर्बौं ऋण लिएको भेटिएको थियो। 

राष्ट्र बैंकले छानबिन गर्न थालेपछि अध्यक्ष देवि भट्टचन प्रभु बैंकको अध्यक्षबाट बाहिरिए । गत पुस अन्तिम साता ९२७ गते० सम्पन्न बैंकको वार्षिक साधारणसभाबाट उनी अध्यक्षबाट बाहिरिएका हुन् । साधारणसभामा सञ्चालक समितिमा उनले उम्मेदवारी नै दिएका थिएनन् । कारबाहीमा पर्ने डरले अहिलेसम्म प्रभु समुहले अध्यक्ष समेत पाएको छैन ।

अध्यक्ष भट्टचनले अध्यक्ष बन्न अन्य व्यक्तीलाई समेत प्रस्ताब गर्दै आएका छन् । तर, ठूलो आर्थिक घोटालाको काण्डमा फसिने डरले कोही पनि अध्यक्ष बन्न तयार नभएको स्रोतले बतायो ।

‘उहाँले अध्यक्ष पद फालाफाल गर्दै हिँड्नु भएको छ । कर्मचारीहरुलाई समेत अध्यक्ष बन्न प्रस्ताब गरिएको छ । केहीमानिसले पदको लोभका भरमा अध्यक्ष बन्ने तरखर समेत गरेका छन्,’ स्रोतले भन्यो,‘तर कोही पनि यहाँ अध्यक्ष बन्न आयो भने अर्बौंको आर्थिक अपराधमा पर्नेवाला छ ।’
आफू अध्यक्षमा भइएन भने कारबाहीबाट समेत बाँच्न सकिने भन्दै राजिनामा दिएका भट्टचनको अबको दैनिकी सहज नभएको स्रोत बताउँछ ।

‘बैंकिङ अपराधमा कमल ज्ञवाली कति वर्षपछि जेल परे रु उनले कति शक्ति केन्द्रलाई रुझाएका थिए । तर अन्तिममा जेलकै बास भयो नी,’ वित्तिय अनुगमनमा समलग्न राष्ट्र बैंककै एक अधिकारी भन्छन्,‘कसैले पनि गैरकानुनी गतिविधि गरेर आफ्नो गल्तीहरुबाट भाग्न पाउँदैन । भट्टचनले राजिनामा दिएर मुक्ती पाउनेवाला छैनन् । हामीले फेरी स्पष्टिकरण पत्र पठाएका छौँ ।’

यद्धपी भट्टचनले अध्यक्ष पदबाट छाडेर कारबाहीबाट मुक्ती नपाउने भनेपनि राष्ट्र बैंकले भने उन्मुक्ति दिएको छ । सवा २ अर्बको हुण्डी र विदेशी विनिमय अपचलनमा राष्ट्र बैंकले नै ५० हजार जरिवाना तथा १० प्रतिशत ब्याज तिराउने निर्णय गरेको छ । तर, सामान्य बैंकिङ कसुरमा भने हजारौँ मानिस पक्राउ परि जेल चलान भइरहेका छन् । भट्ट र शेरचनलाई भने शक्तिकेन्द्रकै आडमा उन्मुक्ति दिइएको स्रोतले जनाएको छ ।

प्रभु समूहअन्तर्गत प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु पे, प्रभु हेलिकप्टर, प्रभु मनी ट्रान्सफर, प्रभु टेलिभिजनलगायत कम्पनी सञ्चालनमा छन् । यीनै सहायक कम्पनिको नाममा मनोमानी ऋण अपचलन भएको स्रोतले जनाएको छ ।

विहीबार, ०५ चैत्र २०७७, ०८ : ४९

प्रतिक्रिया