आईपीओ निष्कासन गर्दै दुई कम्पनी, कुनको कति कित्ता ?

आइतबार, १५ चैत्र २०७७, १४ : २९

काठमाडौं - दुई कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो । 

मैलुङ खोला जलविद्युत कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । 

आयोजना प्रभावितका लागि दश प्रतिशत शेयर वितरण गरेको कम्पनीले सर्वसाधारणका लागि कूल शेयरको २० प्रतिशत शेयर जारी गर्न लागेको हो ।

स्थानीय बासिन्दाका लागि शेयर जारी गरिसकेको कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न २०७४ असोज २० गते निवेदन दिएपनि अझै स्वीकृति पाएको छैन ।

यस जलविद्युत कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

रसुवा जिल्लाको डाँडागाउँमा रहेको यो आयोजनाको ६ मेगावाट विद्युत उत्पादन क्षमता छ । कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । 

कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासिन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमध्ये संस्थापक र स्थानीय शेयरधनीबाट चुक्ता भइसकेको छ ।

साथै मध्य भोटेकोशी जलविद्युत कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । 

शेयर जारी गर्न २०७६ माघ १० गते निवेदन दर्ता गराएको कम्पनीको आईपीओ स्वीकृत हुने अन्तिम चरणमा रहेको छ । सो जलविद्युत कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले यसअघि सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता शेयर बिक्री गरिसकेको छ ।

मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ । ब्याजसहित १५ अर्ब रुपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । 

तर जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण आयोजनाको म्याद थप गरिएको थियो । संशोधित कार्य तालिका अनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएपनि अझै सकिएको छैन। आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण लगानी गरेको छ ।

आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एकरएक प्रतिशत संस्थापक सेयर रहने छ । 

सर्वसाधारणलाई १५, प्रभावित जिल्ला बासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९।५ र आयोजनामा कार्यरत कर्मचारीलाई ३।५ प्रतिशत शेयर दिइनेछ ।

आइतबार, १५ चैत्र २०७७, १४ : २९

प्रतिक्रिया