नेपाल राष्ट्र बैंकले दुई अर्बको नागरिक बचतपत्र बिक्री हुँदै

सोमबार, १० जेठ २०७८, १० : १६

काठमाडौैं - नेपाल राष्ट्र बैंकले जेठ ११ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो ।

व्याजमा कर लाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । जेठ ११ देखि असार १ गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी असार ६ गतेका लागि तोकिएको छ ।

बैंकले २०८३ असार ६ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । 

सोमबार, १० जेठ २०७८, १० : १६

प्रतिक्रिया