झन्डै दुई महिना बन्द भएको बैङ्क तथा वित्तीय संस्था सोमबारदेखि पूर्ण रूपमा सञ्चालन आउने

शुक्रबार, ०४ असार २०७८, ०७ : ५९

काठमाडौं - कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिना बन्द भएको बैङ्क तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैङ्कर्स सङ्घको बिहीबार सम्पन्न  कार्यसमितिको बैठकमा  सबै खाले  बैङकिङ कारोबार खुला गर्ने सहमति भएको होे ।

निषेधाज्ञा खुुकुलो हुँदै गएकाले असार ७ गतेपछि बैङ्कहरू पूर्ण रूपमा चलाउने निष्कर्षमा बैङ्करहरू पुगेका हुन् । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरे पनि खुकुलो बनाएको छ ।  

अहिले निषेधाज्ञा कारण शाखाहरू पनि आलोपालो छ । निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ । बैङ्कका शाखा पनि २ः०० बजेसम्म मात्र खुलिरहेका छन् । परिस्थिति सहज भएसँगै मालपोत कार्यालय खुलेपछि कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको छ ।  

यस्तै ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको सङ्घले जनाएको छ । यसअघि बैङ्कमा भीडभाड बढेको भन्दै राष्ट्र बैङ्कको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैङ्कर्स सङ्घले निर्णय गरेको थियो । 

शुक्रबार, ०४ असार २०७८, ०७ : ५९

प्रतिक्रिया