काठमाडौं - सर्वसाधारणलाई बुक बिल्डिङ्गबाट प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रकृयामा रहेको सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
सिमेन्टले आफ्नै केन्द्रीय कार्यालय तिनकुनेमा आज बिहान ११ बजे विशेष साधारण सभा गर्दै छ । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पारित गर्न लागेको हो ।
यसअनुसार कम्पनीले गत आव २०७७/७८ सम्मको नाफाबाट चुक्ता पूँजीको १९।११८ प्रतिशत बराबरको ६५ करोड बोनस शेयर र कर प्रयोजन सहित ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद सहित कुल ६८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।
कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले लाभांश प्रस्ताव सहित अन्य एजेण्डाहरु पारित गर्न असार १० गते बिहीबार विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो ।
कम्पनीको २०७७ माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक बिल्डिङ्ग विधिबाट गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया