काठमाडौं - लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले त्यस विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । समितिले गत हप्ता ४ सदस्यीय अध्ययन समिति बनाएको हो ।
समितिले निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति बनाएको छ । त्यसमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली, सगरमाथा इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री र सिटिजन लाइफका सीईओ पोषकराज पौडेल सदस्य रहेका छन् ।
अध्ययन समितिले गत बिहीवारदेखि काम शुरू गरिसकेको छ । त्यस समितिले २० दिनभित्र अध्ययन सकेर त्यसको प्रतिवेदन बीमा समितिमा पेश गर्नुपर्ने छ ।
हाल नेपालमा बीमाको पहुँच २३ प्रतिशत जनतामा रहेको छ । तर, सरकारले आगामी आर्थिक वर्षमा त्यो ३३.३३ प्रतिशत जनतामा पुर्याउने लक्ष्य लिएको छ ।
उक्त लक्ष्य प्राप्ति गर्न समितिले विभिन्न काम गर्दै आएको छ । सोही क्रममा समितिले लघुबीमाको दायरा बढाउने गरी अध्ययन अगाडि बढाएको हो ।
प्रतिक्रिया