काठमाडौं, नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर (करिब रु. १७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । कोभिड–१९ महामारीबाट पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई १५ करोड डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेको हो ।
यस सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् ।
उक्त बजेटरी सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा भौतिक पूर्वाधार आयोजना तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा परिचालन हुने पनि ढंगानाले जानकारी गराए । यो आर्थिक वृद्धि तथा पुनरुत्थानका लागि विकास नीति सहयोगसँग सम्बन्धित पहिलो चरणको सहयोग हो । उक्त सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय वृद्धितर्फ लक्षित सुधारहरूलाई सघाउनेछ ।
प्रतिक्रिया