काठमाडौं, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी असार ३० गते बुधवारदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ ।
प्राप्ति पश्चात दुई कम्पनी एक भई नेशनल माइक्रोफाइनान्स लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार शुरु गर्न लागेका हुन् । ती दुबै कम्पनीले गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।
यी दुई कम्पनी बीच गत माघ ८ गते प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकबाट गत वैशाख १५ गते महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले सैद्धान्तिक सहमति प्राप्त गरेकोे थियो ।
महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० बराबर ६८ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकको असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार २४ गते एकीकृत कारोबारका लागि स्वीकृति प्राप्त भएसँगै कम्पनीहरुले एकीकृत कारोबारको मिति तय गरेका हुन् ।
एकीकृत कारोबारको तयारीका लागि असार २९ गते एक दिन दुबै कम्पनीको सम्पूर्ण कारोबार बन्द रहने जानकारी पनि कम्पनीले गराएको छ ।
प्रतिक्रिया