ज्योति विकास बैंकको १ अर्ब ५० करोडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बुधबार, ३० असार २०७८, ०७ : ०५

काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ९ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको १० वर्ष अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि निष्काशन गरिएका ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बुधबार, ३० असार २०७८, ०७ : ०५

प्रतिक्रिया