काठमाडौं - मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको बैंकले जनाएको छ ।
देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गर्न लागेको पनि जनाएको छ ।
बैंकले सञ्चालनको ११ वर्षको छोटो अवधिको वित्तिय सूचकांकलाई केलाएर हेर्दा व्यावसायिक उचाई हासिल गर्न सफल भएको छ । साथै आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यून गर्दै ग्राहकहरुलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको छ ।
जसले गर्दा कोभिड १९ को महामारीको मारमा परेका कर्जा ग्राहकहरु र नयाँ व्यवसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरुलाई मेगा बैंकले सस्तो ब्याजदरमै विभिन्न किसिमका कर्जा उपलब्ध गराइरहेको छ ।
बैंकको बितेको ११ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं वाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ ।
बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आँउदैछन् ।
बैंकले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैंया र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो ।
असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सो क्षेत्रका समुदायलाई केही सहयोग होस् भन्ने उद्देश्य अनुरुप स्थानीय सरकारमार्फत आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।
प्रतिक्रिया