काठमाडौं - शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।
कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका हुन् ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । शेयर लगानीकर्ताहरुले गलत नीति बनाएको भन्दै गभर्नरको राजीनामा समेत मागेका छन् ।
आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका छन् ।
राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यो नियमपछि साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार घटेको थियो ।
प्रतिक्रिया