म्युचुअल फण्डको अधिकतम ५० प्रतिशतसम्म लाभांश घोषणा, कुनले कति प्रतिफल दिने ?

बुधबार, २३ भदौ २०७८, १६ : ०२

काठमाडौं, म्युचुअल फण्डले गत आर्थिक वर्षमा अधिकतम ५० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । अघिल्लो वर्ष म्युचुअल फण्डबाट ४ देखि १५ प्रतिशतसम्म मात्र नगद लाभांश पाएका लगानीकर्ताले गत वर्ष भने ४ देखि ५० प्रतिशतसम्म लाभांश पाएका छन् । औसत हिसाबमा चाहिँ म्युचुअल फण्डले ३१ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । 

गत आवमै निष्काशन गरेका नयाँ म्युचुएल फण्डले बाहेक पुराना म्युचुएल फन्डले २५ प्रतिशतभन्दा माथि नै लाभांश घोषणा गरेका छन्। एनआईबीएल एस क्यापिटलले सञ्चालन गरेको एनआईबील प्रगति फण्ड, एनआईबीएल सहभागिता फण्ड र सनराइज फस्ट म्युचुएल फण्डले सबैभन्दा बढी ५० प्रतिशत नगद लाभांश दिएका छन् ।

२०१७ मा नेप्सेमा सुचीकृत भएको एनआईबीएल प्रगति फण्डले यसअघि लाभांश घोषणा गरेको छैन् । अघिल्लो वर्ष ७ प्रतिशत मात्र लाभांश घोषणा गरेको सनराइज म्युचुअल फण्डले यस वर्ष ५० प्रतिशत लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष १५ र १० प्रतिशत लाभांश घोषणा गरेको सिटिजन्स म्युचुअल फन्ड १ र २ ले गत वर्ष ४० प्रतिशतको दरले लाभांश घोषणा गरेका छन् । 

यस्तै, ४.२५ प्रतिशत लाभांश घोषणा गरेको लक्ष्मी इक्वीटी फण्डको लाभांश गत वर्ष ३५ प्रतिशत पुगेको छ । एनआईबीएल समृद्धि फण्डले अघिल्लो वर्ष १२ प्रतिशत लाभांश घोषणा गरेकोमा गत वर्ष भने ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । एनआइसी एसियाको ब्यालेन्स फन्ड र ग्रोथ फण्ड दुवै म्युचुअल फन्डले ३० प्रतिशत, एनएमबी हाइब्रिड फन्ड, सिद्धार्थ इक्वीटी फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमलगायतले पनि ३० प्रतिशत नै नगद लाभांश घोषणा गरेका छन् । 

त्यस्तै सानिमा इक्वीटी फन्डले ३३ र लक्ष्मी उन्नति कोषले २५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

बुधबार, २३ भदौ २०७८, १६ : ०२

प्रतिक्रिया