गर्भमै शिशुको मृत्यु रोकिएन, ८ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

२ बर्ष अगाडि

काठमाडौं - आमाको गर्भमै शिशुको मृत्यु हुने दर यहाँ अझै कमी आउन सकेको छैन । 

गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो ।

सदरमुकाम बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्म अर्थात् तीन वर्षको अवधिमा ३९ गर्भवतीको गर्भमै शिशुको मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । 

उनका अनुसार यी आमाको गर्भमै मृत्यु हुने शिशुको सङ्ख्यामध्ये गत आव २०७७/७८ मा १२ को मृत्यु भएको छ । त्यस्तै आव २०७६÷७७ मा गर्भमै १६ शिशुको मृत्यु भएको थियो भने आव २०७५/७६ मा ११ को मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

यी आवमध्ये आव २०७६/७७ मा गर्भमै मृत्यु हुने शिशुको सङ्ख्या बढी भएको देखिन्छ । सरकारदेखि विभिन्न सम्बन्धित निकाय तथा स्वास्थ्यकर्मीले गर्भावस्थामा गर्न हुने/नहुनेलगायतका सन्देश प्रवाह गर्दै आएका छन् । 

आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव
हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मङ्गलबार फेला परेको हो ।

बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली पुगेको थियो । शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया