आजदेखि रोकियो सरकारी खर्च, कर ?

२ बर्ष अगाडि

काठमाडौं - प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ प्रस्ताव पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ ।

संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार आज बुधबार समयावधि सकिँदैछ । संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । जसका कारण आजदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको हो ।

सरकारले राजस्व भने उठाउन पाउने छ । समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । 

प्रतिनिधिसभा विघटन भएकैबेला तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश विद्येयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट  ल्याएका थिए ।

गत २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पुनः वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २५ भदौमा १६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट ल्याएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया