मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

१ हप्ता अगाडि

काठमाडौँ - कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए ।  ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित देखिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए। सभामुखसहित ३९ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे । 

एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्‌मा उपस्थित भएनन् । कांग्रेसका १२ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाहीले मतदानमा सहभागी नहुने बताइन् । उनले सत्ता अदलबदलको खेलमा राप्रपा नलाग्ने भएकाले तटस्थ बस्ने बताइन् । 

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेसँगै प्रदेश सभा सदस्यहरूको सङ्ख्या सभामुखसहित ३९ रहेको छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ । मुख्यमन्त्री कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई विकास र समृद्धिको बाटोमा लैजाने नै हो ।’  कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यद्यपि कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता भने दिन सकिरहेका छैनन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया