योगेश  भट्टराईद्धारा बिक्की र सन्तोषलाई ताप्लेजुङमा आमन्त्रण

२ बर्ष अगाडि

काठमाडौं - पूर्व पर्यटन मन्त्री तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कमेडी च्याम्पियन सिजन-२ का फस्ट रनरअप बिक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई ताप्लेजुङमा आमन्त्रण गरेका छन् । 

भरतमणी सहयोग समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममार्फत उनीहरूलाई ताप्लेजुङ आउन आग्रह गरेका हुन् । उनले भने, 'तपाई हरूलाई ताप्लेजुङमा स्वागत छ । ताप्लेजुङको पाथिभरामा आफ्नो मनकामना पूरा गर्न देश विदेशबाट मानिसहरू आउने गर्छन् । तपाईँहरू पनि आउनुहोस् अवश्य तपाईँहरूको मनोकाङ्क्षा पूरा हुने छ ।' 

यस्तै ताप्लेजुङ एउटा पर्यटकीय गन्तव्य भएकोले एउटा कलाकारको माध्यमबाट पनि चिनाउन सकिने भन्दै ताप्लेजुङ पुगेर प्रचारमा सहयोगी गर्न आग्रह गरे । साथै यो जित भरतमणी पौडेलको मात्र नभएर सबैको भएको पनि बताए ।

उनले भरतमणी पौडेललाई यस अघि नै १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । साथै भरतमणीलाई जिताउने पहलमा सक्रिय रुपमा लागेका थिए भने सम्पूर्णलाई भोट गर्न पनि अपिल गरेका थिए । 

उक्त कार्यक्रम मार्फत कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई भट्टराईको तर्फबाट १ लाख, रेडियो तमोर १०२ मेघाहर्जको तर्फबाट १ लाख, ताप्लेजुङ समाजको तर्फबाट २ लाख र अन्य व्यक्तिहरू गरी जम्मा ९ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ  । 

२ बर्ष अगाडि

प्रतिक्रिया