छुट्टा छुट्टै दुर्घटनामा एमाले जिल्ला अध्यक्षका छोरासहित चार जनाको मृत्यु

२ बर्ष अगाडि

महोत्तरीको दुई स्थानमा भएको मोटरसाईकल दुर्घटनामा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा मन्दिर जाने सडक नजिकै दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजयकुमार महतो र महतोत्तरीको बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ रहेको प्रहरीले जनाएको छ । महतो सवार भई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ०५९७ नंको मोटरसाइकल गए राति करिब ९ बजे विपरीत दिशाबाट बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ र २२ वर्षीय सोनु सिंह सवार ज.१२ प.२९६१ नंको मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको हो । 

महतोको उपचारका क्रममा बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा र तामाङको उपचारकै क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा गए राति नै मृत्यु भएको हो । सोही घटनामा सोनु सिंह गम्भीर घाइते भई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि जनकपुर लगिएको र अहिले थप उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।

त्यस्तै बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ वर्षीय योगेश पाल रहेका छन् । मृतक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । आफैले चलाएको  ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 

गोकुलेश्वरबाट सतवाझ आउँदै गरेको ट्याक्टर गएराति सांढे १२ बजे दोगडाकेदार गाउँपालिका ३ तारलमा दुर्घटना भएको हो । दुर्घटनामा पंसेरा निवासी रुपेश कोली घाइते भएका छन् । मृतक पाल दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले पालको मृत्यु भएको पुष्टि गरेका हुन् । दुर्घटनामा घाइते भएका कोलीको अवस्था सामान्य रहेको डा।  बसन्तराज जोशीले बताए ।

ट्याक्टर सडकभन्दा १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले मध्यान्हलाई जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।

२ बर्ष अगाडि

प्रतिक्रिया