वर्षाले झापामा ३६१ परिवार विस्थापित, डोटीमा १२ जनाको मृत्यु

२ बर्ष अगाडि

काठमाडौं - लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ । 

कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका हुन् । डुवान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । 

यस्तै अविरल वर्षाका कारण आएको बाढीपहिरामा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पहिरामा परी मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका इन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली र सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरुवा विक रहेका छन् । 

योसँगै बाढीपहिरामा परेर मृत्यु हुनेको सङ्ख्या जिल्लामा १२ पुगेको हो । उनका अनुसार बाढीपहिरामा परेर घाइते हुनेको सङख्या आठ पुगेको छ । त्यस्तै गएराति नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकाया मृत फेला परेका छन् ।

यस्तै लगातारको वर्षापछि घर भत्किँदा र पहिरामा पुरिएर मङ्गलबारसम्म नौजनाको मृत्यु भएको थियो । सो घर भत्किँदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका १८ वर्षीय छोरा मोहन विक र १२ वर्षीया छोरी पवित्रा विक रहेका छन् । 

सोही घरमा मामाघर आएका १६ वर्षीय रवीन विकको पनि मृत्यु भएको छ । यस्तै जोरायल गाउँपालिका–४ मा पनि पहिराले घर च्यापिँदा ६२ वर्षीय जोगी सार्कीको पनि मृत्यु भएको छ । घाइते अवस्थामा रहेका उहाँकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मङ्गलबार राति नै मृत्यु भएको छ । यस्तै पहिरासँगै आएको ढुङ्गा लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ । 

यस्तै सोमबार रातिको पहिराले घर च्यापिँदा सायल गाउँपालिका–६ का वीरबहादुर कुञ्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुञ्जेडाको मृत्यु भएको थियो । सोही घटनामा परी तीन जना घाइते भएका थिए । यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराका कारण विस्थापित भएका १६० जनालाई गाउँपालिका र स्वरोजगारको कार्यालय,  प्रहरी चौकी वायल तथा स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी पहिराको जोखिममा परी विस्थापित भएका दिपायल सिलगढी नगरपालिका–८ पाङरिका २० घरपरिवारलाई दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । 

२ बर्ष अगाडि

प्रतिक्रिया