पाँचथर बाढीपहिरो : मृत्यु भएका २६ को सनाखत, ताप्लेजुङमा दूरसञ्चार सेवा अवरुद्ध

२ बर्ष अगाडि

काठमाडौं - पाँचथरमा बाढीपहिरोका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन् । पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । पाँचथरमा पहिराले पुर्दा इलामका दुई स्वास्थ्यकर्मी समेत बेपत्ता छन् ।

बाढीपहिरामा परी मृत्यु हुनेमा फिदिम नगरपालिका– १३ लुङरुपाकी २२ वर्षीया ममता लिम्बू र सोही स्थानका चार वर्षीय रोमन मगर, फाल्गुनन्द गाउँपालिका– ३ मालिङ्गेका १० वर्षीय युगेश तामाङ र सोही स्थानका २८ वर्षीय फुर्वा तामाङ, फाल्गुनन्द गाउँपालिका–४ च्याप्लुङकी ३५ वर्षीया प्यारीमाया तुम्बापो चेम्जोङ र कुम्मायक गाउँपालिका–२ लोक्तापाकी ४० वर्षीया डम्बरकुमारी शेर्मा छन् । 

यस्तै जिल्लाको मिक्लाजुङ गाउँपालिका– ५ कारबारीका ७५ वर्षीय धनबहादुर लावती, सोही वडाको हुलाक भन्ने ठाउँकी ३६ वर्षीया चन्द्रकला राई, मिक्लाजुङ गाउँपालिका–१ आठभैयाका ३५ वर्षीय सन्तोष नेपाली, मिक्लाजुङ वडा नं ५ सिक्तेम्बाका ४७ वर्षीय मनबहादुर राई र सोही स्थानकी ४६ वर्षीया बिमला श्रेष्ठ राई, सोही वडाको पञ्चमी भन्ने स्थानका ३१ वर्षीय विष्णुबहादुर लावती, ३१ वर्षीय सन्दीप लावती, १७ वर्षीय अनिल राई, १७ वर्षीय अनिया चोङबाङ, २८ वर्षीय प्रताप चोङबाङ, ६५ वर्षीय पदमसिंह चोङबाङ, ३१ वर्षीय सुरज चोङबाङ, ५५ वर्षीय भद्रमाया लावतीको पहिरोमा परी मृत्यु भएको छ । 

यस्तै मिक्लाजुङ गाउँपालिका–४ पञ्चमीका २५ वर्षीय बबिन राई र २७ वर्षीय अनिल राई, धनकुटा घर भएका ६० वर्षीय मगर साइला भनिने व्यक्ति, मिक्लाजुङ– २ नाकेदिमकी ५१ वर्षीया मानमती शेर्मा र सोही स्थानकी २१ वर्षीय निशा शेर्मा तथा मिक्लाजुङ–७ का मनमाया राई र वीरमान राईको बाढीपहिराका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

उत्ता विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्लबारदेखि अवरुद्ध भएको हो । दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसैगरी सेवा अवरुद्ध हुँदा अविरल वर्षासँगै आएको बाढीपहिराको क्षति सङ्कलन तथा उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ ।

अविरल वर्षाका कारण इलाम जिल्लाको फिकल, इटहरी र विराटनगरका टावर तथा अप्टिकल फाइबरमा समस्या आएकाले ताप्लेजुङमा दूरसञ्चार कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुन पुगेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । तत्काल सेवा सञ्चालन गर्नका लागि प्राविधिक टोलीले काम गरिरहेको र कहिलेसम्ममा सेवा सुरु हुन्छ भन्न नसकिने उनको भनाइ छ ।

नेपाल टेलिकमको सेवासँगै अन्य मोबाइल सेवा प्रदायक एनसीएल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाइन र वर्डलिङ्कलगायतको पनि सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवामा अवरुद्ध भएसँगै विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मङ्गलबारदेखि नै इन्टरनेट अबरुद्ध भएपछि वित्तीय तथा बैंकिङ कारोबारमा समेत समस्या आएपछि सोवाग्राही मर्कामा परेका छन् ।

मोबाइल सेवा अवरुद्ध हुँदा सबैभन्दा धेरै प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ ।

ताप्लेजुङमा पुगेर समयमै होटल बुकिङ गर्न नपाउँदा तीर्थयात्री र पर्यटकले बासका लागि होटल नपाउने, मन्दिरसम्म जाने गाडी नपाउने आफ्ना आफन्तसँग सम्र्पकविहीन हुनुपर्नेजस्ता समस्या भएको थियो ।

मोबाइल सेवा र इन्टरनेट सेवा अजरुद्ध भएसँगै स्थानीय सञ्चारमाध्यमको समाचार प्रकाशन तथा प्रसारणमा समस्या उत्पन्न भएको छ भने सञ्चारकर्मीलाई पनि समाचार सङ्कलन र सम्प्रेषणमा कठिनाइ भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया