नेविसंघले २५ गते देशभर सरकारी सवारी साधन चल्न नदिने

बुधबार, २३ माघ २०७५, १० : २२

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष नैनसिंह महरलगायतका विद्यार्थी नेताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर अध्यक्ष महरसहित पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल विना सर्त रिहाइ गर्न माग गरेका हुन् । विद्यार्थी नेताहरुको बिनासर्त रिहाइको माग गर्दै निकालिएको र्यालीबाट अध्यक्ष महर, उपाध्यक्ष नवीन राई, विद्यार्थी नेताहरु डम्मर सुनार, शंकर खड्का, सरोज तिमिल्सेना, निराजन नेपाल, सञ्जिव ढकाल, सागर पाण्डे, हृदयराज मिश्र, सुनिल सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको थियो ।

शान्तिपूर्ण आन्दोलन गर्न पाउने लोकतान्त्रिक अधिकारविरुद्ध ओली सरकारले विद्यार्थी नेताहरु पक्राउ गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।

महामन्त्री काफ्लेद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने र आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिइएको छ ।

आन्दोलन अन्तर्गत नेविसंघले भोली गण्डकी प्रदेशमा सरकारी सवारी साधना चल्न नदिने, माघ २४ गते पोखरामा बृहत् सभा गर्ने र माघ २५ गते देशभर सरकारी सवारी साधन चल्न नदिने घोषणा गरेको छ ।

 

बुधबार, २३ माघ २०७५, १० : २२

प्रतिक्रिया