काठमाडौँ – प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति ५० हजार देखि एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएका छन् ।
विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने विष हो । सरकारले सन् २००१ मा क्लोरोडेन, डिडीटी, डाइएल्ड्रिन, इण्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन, अर्गानो मर्करी कम्पाउण्ड, सन् २००७ मा मिथाइल पाराथियन, मोनोक्रोटोफस र सन् २०१४ मा इण्डोसलफान र फोरेट लगायतका २१ थरी विषलाई राजपत्रमा प्रकाशित गरी प्रतिबन्धित विषादीमा सूचीकृत गरेको थियो ।
‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ मा उल्लेख गरिएको उक्त विषयमाथि कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आजबाट दफावार छलफल शुरु भएको छ । आगामी चार वर्षभित्र जीवनाशक विषादी उत्पादन, आयात र बिक्री बन्द गर्ने प्रस्ताव विधेयकमा राख्नुपर्ने धारणा पनि आएको छ ।
उत्पादक र प्रयोगकर्तालाई एकै प्रकारको दण्डसजाय हुन नहुने धारणा पनि आएको छ । नेपाल विषादीको प्रयोगशाला हुँदा पनि सरकारले ठोस् काम गर्न सकेको छैन ।
गाउँघरका किसानलाई विषादी विष हो, औषधि होइन भन्ने विषयमा पर्याप्त जानकारी नहुँदा विषादीको प्रयोग केही बढ्न गएको छ ।
धादिङ, काभ्रे, मकवानपुर, नुवाकोटमा विषादीको प्रयोग अलि धेरै देखिए पनि अन्य जिल्लामा खासै प्रयोग भएको छैन ।
विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्रयोग विसर्जन जस्ता कार्यलाई नियमन गरी मानव तथा जीवजन्तुको स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई नियन्त्रण गर्नुपर्छ भन्ने विषय विधेयकले समेटेको छ ।
प्रतिक्रिया