‘अपराधी पत्ता लगाउन समय लाग्न सक्छ’

विहीबार, २४ माघ २०७५, ०७ : ५५
काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाउन समय लाग्न सक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सांसदका प्रश्नको जवाफ दिँदै थापाले सरकार हत्यारा पत्ता लगाउन प्रयत्नशील रहेको बताए ।
 
झन्डै ७ महिनासम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । सांसद–मन्त्री प्रश्नोत्तरका क्रममा कांग्रेसकी डिला संग्रौलाले सरकारले हत्यारा संरक्षण गरेको आरोप लगाउँदै जवाफ मागेकी थिइन् ।
 
गृहमन्त्री थापाले सरकारले यस विषयमा गम्भीर अनुसन्धान जारी राखेको बताए । ‘महिला हिंसा सम्बन्धमा नेपाल प्रहरीले ९५ प्रतिशत अपराधीलाई कठघरामा ल्याएको छ,’ उनले भने, ‘४–५ प्रतिशतलाई कानुनको कठघरामा ल्याउन सरकार प्रयत्नशील छ । केही केसमा अपराधी पत्ता लाग्न समय लाग्छ, यो घटनाले पनि समय लिएको छ । सरकार छिटोभन्दा छिटो पत्ता लगाउन प्रयत्नशील छ ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
विहीबार, २४ माघ २०७५, ०७ : ५५

प्रतिक्रिया