न्याम्स ६ महिनादेखि पदाधिकारीविहीन

शुक्रबार, ०३ फागुन २०७५, ०८ : २३

काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा उपकुलपतिलगायत पदाधिकारी ६ महिनादेखि नियुक्त हुन नसक्दा दैनिक कार्य सञ्चालनमा समेत समस्या उत्पन्न भएको छ । 

स्वास्थ्य मन्त्रालयले ५ महिनाअघि नै उपकुलपति सिफारिस गरे पनि अन्य पदाधिकारी आफूले भनेअनुसारको हुनुपर्ने प्रधानमन्त्री कार्यालयको अडानका कारण नियुक्ति हुन नसकेको स्रोतले जनाएको छ । मन्त्रालयले न्याम्स उपकुलपतिमा ३ जनाको नाम प्रस्ताव गर्दै प्रधानमन्त्री कार्यालयमा पठाएको थियो ।

उपकुलपति नियुक्ति हुन नसक्दा रेक्टर, रजिस्ट्रार, डिन, वीर अस्पताल तथा ट्रमा सेन्टरका निर्देशकको समेत नियुक्ति हुन सकेको छैन । प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार उपकुलपति नियुक्त गरेपछि उपकुलपतिले बाँकी पदाधिकारीको नाम स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने प्रावधान छ । प्रधानमन्त्री केपी ओली न्याम्सका कुलपति तथा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहकुलपति हुन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

शुक्रबार, ०३ फागुन २०७५, ०८ : २३

प्रतिक्रिया