काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त गरेको जीपीए अंकका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो ।
सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जीपीएका आधारमा विद्यार्थी भर्ना गरिने जानकारी दिए । उनले भने, ‘अब विद्यार्थीले सीटीईभीटी अन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनु पर्दैन ।’ प्रवेश परीक्षा लिइँदा विभिन्न नकारात्मक हल्ला फैलिएपछि जीपीएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागिएको उनले बताए ।
कतिपय पूर्वतयारी कक्षा चलाउनेहरूले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने जनाउँदै रकम लिएको गुनासोसमेत आएको जनाउँदै उनले अब यस्तो समस्या नहुने स्पष्ट पारे ।
सीटीईभीटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२ तयार गरी कार्यान्वयनमा ल्याएको हो । उक्त निर्देशिकामा एसइई परीक्षामा प्राप्त जिपिएका आधारमा योग्यताक्रम सूची तय गर्ने व्यवस्था गरिएको छ ।
उनका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्णलाई थप अंकभारबापत एक र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अंकभार वापत ०।८५ दिने व्यवस्था गरिएको छ ।
सीटीईभीटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्थासमेत गरेको छ । आङ्गिक र सम्बन्धनप्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् । निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए ।
देशभर ६३ आंगिक र प्रतिष्ठान एवं निजी गरी चार सयभन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताए ।
प्रतिक्रिया