सीजी एग्रोले सुरु गर्‍यो नानो युरिया झोल मल बिक्री सुरु

१ बर्ष अगाडि

काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रो कम्पनीले नेपाली बजारमा नानो युरिया झोल मल बिक्री सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै सीजी एग्रोले सीजी इफ्को नामक नानो युरिया मल भित्र्याएको घोषणा गरेको हो । भारतका पूर्व केन्द्रीय रेल्वे मन्त्री सुरेस प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त मल नेपाली बजारमा भित्र्याइएको घोषणा गरे ।

सीजी एग्रोले बिक्री गर्ने मल भारतीय फार्मर फर्टिलाइजरको अपरेटिभ लिमिटेडले उत्पादन गरेको हो । पानीमा मिसाएर वनस्पतिको पातमा छर्किने यो मलले नेपालमा रासायनिक मल अभावलाई चिर्ने सीजी एग्रोको दावी छ ।

हाल परम्परागत रुपमा प्रयोग गर्दै आएको एक बोरा (५० किलो ) युरिया मल बराबर यस्तो मल ५०० एमएल भए पुग्ने कम्पनीले जनाएको छ । स्प्रे वा ड्रोनमार्फत छर्न सकिने यस्तो मल दाना युरिया भन्दा सस्तो हुने कम्पनीको दावी छ। 

गत वर्ष नानो मलको प्रयोगबारे कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको थियो । नार्कका वैज्ञानिकहरुले स्थानीय ज्यापु काउलीमा गरेको प्रयोगमा यस्तो मलबाट हुने कुल लागत अन्य मलबाट भन्दा प्रतिहेक्टरमा ८ हजार १५० रुपैयाँले सस्तो पाइएको थियो । यस्तै उत्पादनका हिसाबले पनि झोल बढी प्रभावकारी देखिएको नार्कको दावी छ ।

भारत लगायतका बजारमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिए पनि कानुन अभावमा सरकारले अनुमति जारी गरेको थिएन । यसअघि नेपालमा गोप्य रुपमा केही मात्रामा यस्तो मल नेपालका चिया किसानहरुले प्रयोग गरेका थिए । झोल युरियाको नयाँ अनुमतिसँगैं नेपालमा रासायनिक मल आयात अनुमति हुने मलको संख्या ५३ पुगेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया