जुम्लामा पानि र सिंचाइको लागि ३३ योजना

१ बर्ष अगाडि

काठमाडौँ-  जुम्लाका तीन स्थानीय तहमा विगत चार वर्षदेखि सञ्चालित (क्याप्स कर्णाली)
परियोजना हस्तान्तरण गरिएको छ । 

अनुकूलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पेस नेपाल जुम्लाद्वारा सञ्चालित (क्याप्स परियोजना शुक्रबार एक समारोहका बीच सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याफ्स कर्णाली)  परियोजना यहाँका तातोपानी, तिला र हिमा गाउँपालिकामा सन् २०१८ अक्टुबरदेखि सञ्चालन भएको थियो । चार वर्षे क्याप्स परियोजनामार्फत तीन पालिकामा २६ करोड ६९ लाख ७६ हजार ३ सय १८ रुपैयाँ खर्चेर खानेपानी आयोजना, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, सामुदायिक भवन, सुधारिएको घट्ट, पानी ट्यांकीलगायतका तीन दर्जन बढी पूर्वाधार निर्माण भएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए ।

चार वर्षको अवधिमा २६ करोड बढी बजेट खर्चेर निर्माण भएका आयोजनासहितको परियोजनासम्बन्धी तीन पालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको उनको भनाइ छ । परियोजनामा हालसम्म भएका असल अभ्यास, राम्रा कामलाई पालिकाले निरन्तरता दिनुपर्ने विषयमा उल्लेख गरिएको छ । जीविकोपार्जनका साधन तथा प्राकृतिक स्रोतको सुदृढ व्यवस्थापनमार्फत उच्चपहाडी हिमाली जिल्लाका जलवायु संकटासन्न, खाद्य असुरक्षित र गरिब घरपरिवारको अनुकूलन क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको थियो ।

चार वर्षमा १ सय ३८ हेक्टर जमिन सिञ्चित भएको छ भने नहर ९कुलो० निर्माण, ४ वटा सामुदायिक सेवा केन्द्र भवन निर्माण, ४१ हेक्टरमा १४ हजार १ सय २५ विरुवाको व्यावसायिक फलफूल खेती र आठ हेक्टर गैरकाष्ठ वनपैदावार खेती भएको छ । यस्तै ३ सय ८३ जना कृषकको बाली तथा पशु बिमाका लागि सहयोग, एक वटा लिफ्ट सिँचाइबाट ३२ हेक्टर जमिन सिँचाइ भएको पेस नेपाल जुम्लाले जनाएको छ । नौ वटा सुधारिएको पानीघट्ट निर्माण भएका छन् ।

४० हेक्टर जमिन सिँचाइ हुने सातवटा पानी संकलन पोखरी निर्माण, एकवटा लघुजलविद्युत आयोजना निर्माण, पाँचवटा संकलन केन्द्र भवन निर्माण गरिएको छ । ४ सय ७८ घरधुरीका लागि चारवटा खानेपानी आयोजना निर्माण, आठवटा कृषि तथा वन नर्सरी स्थापना भएका छन् । घरबगैंचा स्थापनाका लागि एक हजार ७ सय २२ घरधुरीलाई ५२ हजार ५ सय ७१ फलफूलको बिरुवा सहयोग गरिएको जनाएको छ । चार वर्षे परियोजनाबाट १७ हजार ५ सय १६ लाभान्वित जनसंख्या रहेको छ ।

१२ हजार ७ सय जनालाई जनलवायु परिवर्तन अनुकूलनसम्बन्धी सचेतीकरण गरिएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक कृष्ण शाहीले बताए । ३ हजार ७ सय ३८ कृषकलाई प्राविधिक सहयोग भएको छ । उनले भने ४८ वटा सामुदायिक पूर्वाधार निर्माण गर्दा ज्यालाका रुपमा आठ करोड १० लाख ४६ हजार ४ सय ८१ रुपैयाँ नगद हस्तान्तरण गरिएको छ । कार्यक्षेत्रमा पर्ने गाउँपालिकामा तीनवटा स्थानीय अनुकूलन कार्ययोजना निर्माण गरिएको छ । परियोजनाको कार्यक्षेत्र तातोपानी, तिला र हिमा गरी तीनवटा गाउँपालिकाका १० वडाका तीन हजार ५ सय २६ घरधुरीका २१ हजार १ सय ५० जनसंंख्या लाभान्वित भएका छन् ।

असल अभ्यासको निरन्तरता दिने बाचा

क्याप्स परियोजनाले चार वर्षमा गरेका असल अभ्यासको निरन्तरता दिने स्थानीय तहका प्रमुखहरूले बताएका छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले परियोजनाले गरेका थुप्रै काममध्ये खानेपानीको विकास, उपभोक्ताबाट हुने अनियमितता रोक्न कामदारको खातामा पैसा पठाउने र सामुदायिक भवन निर्माणको काम उत्कृष्ट भएको बताए । आनीबानी सुधारदेखि सिँचाइ तथा खानेपानीको विकास र वित्तीय कारोबार सिधै उपभोक्तासँग गर्ने कामलाई निरन्तरता दिइने उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जलवायु परिवर्तनले माथिल्लो कर्णालीमा पारेको प्रतिकूल असर न्यूनीकरण गर्न परियोजना लागू भएको बताए । चार वर्षमा परियोजनाका असल अभ्यासलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विश्व खाद्य कार्यक्रमका उपप्रमुख कृष्ण योगीले जलवायु अनुकूलनका लागि दोस्रो परियोजना सञ्चालनका लागि तयारी भइरहेको बताए ।

उनका अनुसार अमेरिकी सरकारले एक करोड डलर बजेट छुट्याइसकेको छ । चार वर्षे परियोजनाले उद्यमशीलताको विकास, महिला सशक्तीकरण, जीविकोपार्जन, उत्पादन वृद्धिलगायतका विषयमा उल्लेखनीय काम भएको तिलाका स्थानीय दिपबहादुर बोहोराले बताए । उनका अनुसार परियोजनाका राम्रा कामलाई स्थानीय तहले निरन्तरता दिन आवश्यक छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया