रेलेखोला जलविद्युत आयोजनाको निर्माणकार्य धमाधम

१ बर्ष अगाडि

काठमाडौँ- जलविद्युत गाउँको रूपमा परिचित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको निर्माणकार्य धमाधम भएको छ । 

अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरी निर्माण गर्न लागिएको यस आयोजनाको निर्माणकार्य करिब ५० प्रतिशत पूरा भएको छ ।

हिमकन्सल्ट प्रालिले नदीको बहाबमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’मार्फत् यस आयोजनालाई निर्माण गर्न लागेको हो । २०७३ देखि नारच्याङको बेसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माणस्थलतर्फ पहुँचमार्ग निर्माण सुरु गरेको यस आयोजनाले गत वर्षको फागुनदेखि आयोजनाको निर्माण कार्य सुरु गरेको थियो । अहिलेसम्म करिब ५० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको र आगामी असारसम्ममा पूर्वाधार निर्माणको कामसक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिए ।

“आयोजनाको बाँधस्थल, पाइपलाइन र विद्युतगृहतर्फको काम तीव्र रूपमा अघि बढेको छ, दैनिक रूपमा १ सय ३० जना बढी मजदुरसँगै आवश्यक मेसिन उपकरण पर्याप्त मात्रामा परिचालन भएका छन्, चिसो मौसमको प्रतिकूलताका बीच पनि निर्माण कार्यलाई तीव्रता दिएका छौं,” इन्जिनियर भट्टराईले भने । कालोखोलामा बाँध रहेको यस आयोजनाको तीन हजार ६ सय मिटर लामो पाइपलाइनमार्फत् पानी लगेर हरिस्वाँरामा रहने विद्युतगृहमा ५ सय ५ मिटर हेडबाट पानी खसालेर विद्युत उत्पादन गरिनेछ ।

यस आयोजनामा पानी लैजानका लागि सुरुङमार्गको प्रयोग नगरी पेनस्टक पाइपको मात्रै प्रयोग गरिने भएको छ । यस आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइडोमेकानिकलतर्फ वर्कसप अफइन्जिनियरिङ र इलेक्टोमेकानिकलतर्फ फोलो भेल इनर्जी प्रालिले ठेक्का लिएका छन् । सिभिलतर्फ बाँधतर्फको ५० प्रतिशत बढी काम सकिएको र पाइपलाइन राख्नका लागि पाइप ढुवानी र पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर लोकबहादुर नायकले बताए ।

यस आयोजना निर्माणमा प्रतिमेगावाट २० करोड लागत अनुमान गरिएको छ । हिमालय बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकले समेत गरी ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ । यस आयोजनाबाट उत्पादनहुने विद्युतलाई चार किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारणलाइन निर्माण गरी कालिगण्डकी करिडोर प्रसारणलाइनको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रशारणमा जोडिनेछ ।

हाइड्रो भिलेजको नामले परिचित नारच्याङमा यसअघि पाँच मेगावाटको घलेम्दीखोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेका छन् । विद्युत उत्पादनका लागि दर्जन बढी आयोजना दर्ता भएको यस वडामा निलगिरि हाइड्रो पावरले निर्माण गर्न लागेको १ सय १० मेगावाट क्षमताको निलगिरि पहिलो र निलगिरि क्यासकेड गरी दुईवटा आयोजनामा समेत निर्माण कार्यले तीव्रता पाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया