काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा किसानले सडकमा तरकारी फालेको विषयबारेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै किसानको माग सम्बोधनको लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन् । हिजो शुक्रबार चितवनका किसानहरूले उचित मूल्य नपाएको भन्दै तरकारी र अन्य कृषिजन्य उत्पादन सडकमा फालेका थिए ।
चिवतनमै रहनुभएका मन्त्री साहलाई प्रधानमन्त्रीले किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएका छन्।
कृषिमन्त्रीले किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी छ।
प्रतिक्रिया