अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन अर्थमन्त्री पौडेलको निर्देशन

१ बर्ष अगाडि

भैरहवा - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् । रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग भैरहवामा छलफल गर्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउँदै छौँ । अर्को वर्षदेखि बजेट रकामान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउछौँ । अर्थमन्त्री पौडेलले सरकार खर्च कटौतीको विन्दुमा पुगेकाले अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन पनि आग्रह गरेका छन् ।

अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम तथा योजना पूरा गर्नेतर्फ ध्यान नदिँदा ती आयोजना पूरा नभएको, शर्त कार्यान्वयन नभएको उल्लेख गर्दै विदेशी दातृ निकायले दिने सहयोगमा पनि अप्ठ्यारो भइरहेको बताएका छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय दातृ निकायले दिएको पैसा खर्च गर्नुस् न पहिले भन्छन् तर हामी त्यता ध्यान दिदैनौँ । गरिएका शर्त पालना गर्दैनौँ, अनि कहाँबाट सहयोग आउँछ ?’

१ बर्ष अगाडि

प्रतिक्रिया