काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।
टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उनले वर्तमान अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताए ।
“तपाईंहरुमाथि अभिभावकको मात्र आशा र सपना निहीत नभई प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले उत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ”, उनले भने ।
युवाको व्यक्तित्व विकास गर्ने उद्देश्यले विसं २०२२ बाट ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने मान्यतासहित राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त नभएको उल्लेख गर्दै उनले आगामी दिनमा तालिममा सहभागीको सङ्ख्या विस्तार गर्न सरकार गम्भीर रहेको बताए ।
उनले आगामी दिनमा सङ्ख्या वृद्धि गरी तालिमको गुणस्तरमासमेत थप प्रभावकारिता ल्याइने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताए ।
प्रतिक्रिया