बैङ्क तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको छ : प्रधानमन्त्री प्रचण्ड

आइतबार, २१ फागुन २०७९, १६ : ४१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैङ्क तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । 

सिंहदरबारमा आइतबार बैङ्क तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले बैङ्कको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका  हुन्। छलफल बैङ्क तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उनले बताए । उनले आवश्यक परे समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउन पनि तयार रहेको जानकारी दिए ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैङ्किङ क्षेत्रका प्रतिनिधिहरूले अहिलेको अवस्थामा बैङ्क तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू दिएका थिए । बैठकपछि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिलेको समस्याका बारेमा प्रधानमन्त्रीले चासो व्यक्त गरेका  जानकारी दिए । अहिले ऋण नतिर्ने व्यवसायीको नियत नभएको भन्दै उच्च ब्याजदर लगायतका कारण व्यवसायमा परेको असरका बारेमा जानकारी गराएको उनले बताए । 

उनले सरकारबाट ऋण तिर्नका लागि केही समय र सहुलियत दिनुपर्ने र यसमा राष्ट्र बैङ्कले सम्बोधन गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । अहिले खराब कर्जाका कारण मुलुकको आर्थिक व्यवस्थामा नै असर पर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ । बैठकमा सबै पक्षले अहिले समस्या समाधान नै जोड दिएको गोल्छाले बताए । उनले लघुवित्तमा भएको आक्रमणमा निजी क्षेत्रको कुनै संलग्नता नरहेको स्पष्ट पारे।

आइतबार, २१ फागुन २०७९, १६ : ४१

प्रतिक्रिया