नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित

१ बर्ष अगाडि

काठमाडौँ-  नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । 

विगत १२ वर्षदेखि नेपालमा व्यवस्थापन र सूचना प्रविधि शिक्षाको क्षेत्रमा दक्ष र अनुभवी जनशक्ति उत्पादन गर्दै आएको फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपालका राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई क्रिकेटको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेबापत अभिनन्दन कार्यक्रम मार्फत सम्मान गरेको छ ।


 सम्मान प्राप्त गर्ने राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् । अभिनन्दन कार्यक्रमका विशेष अतिथि क्रिकेटक्षेत्रका प्रख्यात राष्ट्रिय व्यक्तित्व तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान श्री पारस खड्काको उपस्थितिमा कलेजले प्रत्येक क्रिकेट खेलाडीहरूलाई दोसल्ला, प्रशंसा पत्र र नगद रु। ५०००० प्रदान गर्दै सम्मान गरेको छ ।

सम्मानित क्रिकेट खेलाडीहरू पाँचै जना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रमको प्रमुख उद्देश्य खेलकुदमा उल्लेखनीय उपलब्धि तथा योगदान पुर्याएका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने थियो । कलेजले यस कार्यक्रम मार्फत खेलाडीहरूको उत्कृष्ट योगदानको उच्च कदर गर्दै प्रशंसा र कृतज्ञता प्रदान गर्यो । सम्मानित खेलाडीहरूले उनीहरूको शैक्षिक र क्रिकेट करियरलाई सन्तुलनमा राख्न कलेज गरेको सहयोगको खुलेर तारीफ गरे ।

१ बर्ष अगाडि

प्रतिक्रिया