आईपीएलमा आज दुईवटा खेलहरू हुँदै

१ बर्ष अगाडि

मुम्बई-  इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुईवटा खेलहरू हुँदैछन् ।

 पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् । सबै टोली यो सिजन आईपीएलमा सुखद सुरुवात गर्न चाहन्छन् । सन् २००८ मा शेन वार्नको अगुवाइमा राजस्थानले आईपीएलको उपाधि जिते पनि त्यसयता प्रभावशाली प्रदर्शन गर्न सकेको छैन । हैदराबाद सन् २०१६ मा च्याम्पियन बनेको थियो ।


राजस्थानको कप्तानी सन्जु स्याम्सनले गरिरहेका छन् भने एडेन मार्करामको अनुपस्थितिमा भुवनेश्वर कुमार हैदराबादको नेतृत्व सम्हाल्नेछन् । गत सिजन हैदराबादले राम्रो प्रदर्शन गर्न सकेको थिएन । टोलीले १४ खेलमध्ये ८ खेलमा हार बेहोर्दै आठौँ स्थानमा सीमित बनेको थियो ।  राजस्थान भने गत सिजनको उपविजेता टोली हो । टोली फाइनलमा गुजरातसँग पराजित हुनपुगेको थियो । टोलीले १४ मध्ये ९ खेलमा जीत हासिल गर्दै शीर्ष चारमा स्थानमा बनाउन सफल भएको थियो । आईपीएलमा दुई टिम १६ पटक आमनेसामने भएका छन् । दुई टोलीले बराबर ८–८ पटक खेल जितेका छन् ।


उता, साँझ ७ः ४५ हुने खेलमा बैंग्लुरु र मुम्बईबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । पछिल्ला दुई सिजनमा बैंग्लुरुले मुम्बईलाई लगातार तीनपटक हराएको छ । बैंग्लुरुको कप्तानी फाफ डु प्लेसिसले गर्दै छन् भने रोहित शर्मा मुम्बईको कप्तान छन् ।


मुम्बई लिगको सबैभन्दा सफल टिम हो । उसले ५ पटक उपाधि जितेको छ । टोली ९ पटक प्लेअफमा पुगेको छ भने ६ पटक फाइनल खेलेको छ । गत सिजन भने मुम्बईले खराब प्रदर्शन गर्दै १० औँ नम्बर सीमित बनेको थियो । उता हालसम्म उपाधि नजितेको बैंग्लुरु गत सिजन क्वालिफायरसम्म पुगेको थियो । दुई टोलीबीच हालसम्म भएका ३० खेलमा बैंग्लुरुले १३ तथा मुम्बईले १७ खेल जितेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया