नयाँ वर्षमा खानीखोलामा ‘प्रथम खानीखोला कप खेलकुद प्रतियोगिता’ हुँदै

१ बर्ष अगाडि

काठमाडौँ- काभ्रे जिल्लाको विकट खानीखोला गाउँपालिकाले नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप खेलकुद प्रतियोगिता’ आयोजना गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बैशाख १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिवल र कँराते समावेश गरिएको जानकारी दिए ।

अध्यक्ष थिङका अनुसार गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नारालाई आत्मासात गर्दै खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । 

अध्यक्ष थिङले फुटबल र भलिवलका प्रथम, द्धितीय र तृतीय हुने टिमले पुरस्कार स्वरुप क्रमशः २५ हजार रुपैँया, २० हजार र १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए । त्यस्तै कँरातेतर्फका प्रथम, द्धितीय र तृतीय हुने खेलाडीले जनही नगद १० हजार, ७ हजार र ५ हजार रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । कराँतेमा पुरुषको २५ केजीदेखि ६० र महिलाको २५ देखि ५५ सम्मका तौल समुहले प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख विष्णुबहादुर अधिकारीले फुटबल र भलिवल प्रतियोगिता वडास्तरीय तथा कँरातेतर्फ पुरुष र महिला दुवै खेल खुल्ला हुने बताए । उनका अनुसार सहभागी हुन चाहाने वडाले ३० चैतभित्र २ हजार शुल्कसहित टिम दर्ता गरिसक्नु पर्ने छ । 

त्यस्तै खानीखोला गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाले प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई गाउँपालिकाको टिममा समावेश गरिने बताए । अनुशासन उलंघन गर्ने खेलाडी वा टिमलाई खेलबाट निष्काशन गर्नुका साथै कुनै प्रकारको दावी विरोध परेमा अन्तिम निर्णय आयोजकको हुने उनको भनाई छ । गाउँपालिकाको केन्द्र ताल्ढुंगामा हुने सबै विधाको प्रतियोगिता  फिफा को नियमअनुसार खेलाइने आयोजकले जनाइएको छ । 

संयोजक लामाले पुर्व उर्जा राज्य मन्त्री तथा संघीय संसद् सुर्यमान दोङ (लालध्वज)ले प्रतियोगिताको उद्घाटन गर्ने गरी खेलको सम्पुर्ण तयरी करिब पुरा भएको जानकारी दिए । प्रतियोगितामा खाने बस्ने लगायतका खेलमा आवश्यक सबै तयारी भने टिम वा खेलाडी आफैले गर्नु पर्ने छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया