हकप्रद सेयर जारी गर्दै अरुण भ्याली

आइतबार, ०७ जेठ २०८०, १८ : ३९

काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारीको प्रस्ताव साधारणसभामा पेस गरी अनुमोदन गर्नका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ। 

विद्युत नियमन आयोगले अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद सेयर जारीको प्रस्ताव साधारणसभा पेस गरी अनुमोदन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। 

अरुण भ्यालीको गत वैशाख ६ गते बसेको सञ्चालक समितिले चुक्तापुँजीको १ः१ अनुपात अर्थात सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ। उक्त निर्णयमा पूर्वस्वीकृति लिन अरुण भ्यालीले विद्युत नियमन आयोगमा पेस गरेको थियो। 

विद्युत नियमन आयोगले चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभाबाट अनुमोदन गर्न अरुण भ्यालीलाई पूर्वस्वीकृति प्रदान गरेको हो। 

अब अरुण भ्याली हाइड्रोपावरले साधारणसभाबाट उक्त प्रस्ताव पारित गरी हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ। 

उक्त हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय कम्पनीले जनाएको छ। 

यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ।

आइतबार, ०७ जेठ २०८०, १८ : ३९

प्रतिक्रिया