काठमाडौं - वाणिज्य बैंकहरुले असार महिनाको लागि निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्णयअनुसार नै वाणिज्य बैंकहरुले असार महिनाको लागि स्थिर ब्याजदर सार्वजनिक गरेका हुन् ।
बैंकहरुले अघिल्लो महिनाको अन्तिम दिन आगामी महिनाको लागि ब्याजदर सार्वजनि गर्नुपर्छ । सोही अनुसार बैंकहरुले आज जेठ ३१ गते असारको लागि स्थिर ब्याजदर सार्वजनिक गरेका हुन् ।
वैशाखदेखि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा झारेका थिए । जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९% र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९% कायम भएको छ । यहि ब्याजदरले जेठ र असारमा पनि निरन्तरता पाएको छ ।
वैशाख यता निक्षेपको ब्याजदर घटेर स्थिर रहेका कारण बैंकहरुको आधारदर पनि घट्नेछ । पछिल्लो ३ महिनाको औसत बेसरेटलाई आधार मानेर कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने भएकाले कर्जाको ब्याजदर भने केही घट्ने देखिन्छ । यस्तै, असार मसान्तसम्म स्प्रेड दर ४% मा झार्नुपर्ने व्यवस्था रहेकाले पनि कर्जाको ब्याजमा कमी आउने छ ।
यता, केन्द्रीय बैंकले प्रत्येक महिना कर्जाको ब्याजदर आधारदर अनुसार परिवर्तन गर्न निर्देशन दिइसकेको छ । यसआधारमा असारमा कर्जाको ब्याजदर भने घट्ने देखिन्छ ।
प्रतिक्रिया