ट्यूनिसियाको अवैतनिक दूतमा राणा

शनिबार, ०२ असार २०८०, १२ : ५५

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवाणी राणा ट्यूनिसियाको अवैतनिक दूत बनेकी छिन् । यसअघि नेपाल र ट्यूनिसियाबीच प्रत्यक्ष कूटनीतिक सम्बन्ध स्थापित थिएन । ट्यूनिसियाले भारत, नेपाल, बङ्गलादेश, श्रीलङ्का र भुटान हेर्न भारतमा राजदूतावास सञ्चालन गर्दै आइरहेको थियो ।

 अब भवानी राणा नेपालका लागि ट्यूनिसियाकी अवैतनिक दूत बनेकी छिन् । उनलाई दक्षिण एसिया हेर्ने ट्यूनिसियाकी राजदूत हाएत तल्बी इपी बिलेलले अवैतनिक दूतको जिम्मेवारी सुम्पेकी छन् । राणा नेपाल भारत संयुक्त व्यावसायिक मञ्चकी अध्यक्ष समेत हुन् ।

 अवैतनिक दूतको जिम्मेवारी लिँदै राणाले नेपाल र ट्यूनिसियाबीच वैदेशिक व्यापारको राम्रो सम्भावना रहेको बताइन् । उनले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ पार्दै आर्थिक, सामाजिक र पर्यटकीय गतिविधिलाई सबल बनाउन लागि पर्ने बताइन् । राणाले ट्यूनिसियाबाट नेपालमा वैदेशिक लगानी ल्याउन पहल गर्ने समेत बताइन् ।

 भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९र८० को १० महिनाको अवधिमा ट्यूनिसिया र नेपालबीच २५ लाख रुपैयाँको व्यापार भएको छ । नेपालले उताबाट २४ लाख ७६ हजार रुपैयाँको आयात गर्दा ट्यूनिसियलाई २० हजार रुपैयाँको मात्रै वस्तु बिक्री गरेको विभागको तथ्यांकले देखाउँछ ।

 १ करोड २० लाख हाराहारी जनसङ्ख्या भएको अफ्रिकी मुलुक ट्यूनिसियाले पछिल्लो समय निरन्तर आर्थिक प्रगति गर्दै गइरहेको छ ।

शनिबार, ०२ असार २०८०, १२ : ५५

प्रतिक्रिया