काठमाडौँ- ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड(२०७९’ को चौथो संस्करण आज (शुक्रबार) आयोजना हुँदै छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दिउसो ३ बजेदेखि धनगढीको ओम प्यालेसमा अवार्ड कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।
आयोजकले अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड—२०७९ मार्फत २०७९ सालमा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने जानकारी आयोजक मञ्चका अध्यक्ष प्रदीप पाठकले दिए ।
पाठकका अनुसार, उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
यसैगरी उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी मञ्चका कोषाध्यक्ष नवराज पनेरुले दिए । उनका अनुसार, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
मञ्चका महासचिव हरि जोशीका अनुसार, आयोजक मञ्चले ६ वटा विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । वर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा परेका छन् ।
यसैगरी वर्षको उत्कृष्ट खेलाडी महिलामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी वर्षा ओली मनोनयनमा परेका छन् । वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् ।
यसैगरी वर्ष युवा खेलाडीमा भारोत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । सुदूरपश्चिम आइकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् ।
सुदूरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेका छन् । बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गरिने भएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने मञ्चले जनाएको छ । कार्यक्रममा हास्य कलाकार म्याक्सम गौडेल र गायक निशान भट्टराईको प्रस्तुति पनि रहने छ । कार्यक्रममा प्रवेश भने निःशुल्क रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया