प्रभु महालक्ष्मी लाइफको सीईओमा भट्टराई नियुक्त

आइतबार, २४ असार २०८०, १२ : २३

काठमाडौँ - नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई स्वीकृति दिएको छ। 

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने निर्णय भइसकेको छ। दुवै कम्पनीबीचमा २०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ  ३ गते अन्तिम सहमति भएको थियो। 

दुवै सम्झौतामा महालक्ष्मी लाइफका सीईओ रमेशकुमार भट्टराईलाई मर्जरपछिको आगामी ४ वर्षका लागि एकीकृत कम्पनीको सीईओ नियुक्ति गर्ने सहमति भएको थियो। दुवै सहमतिलाई प्रभु र महालक्ष्मी लाइफको गत जेठ २६ गते भएको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो। 

व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्थापनाकालदेखिको सीईओ थिए। २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैंकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन्। 

२०५२ मंसिर १५ गते वीरगन्जमा स्थापित महालक्ष्मी फाइनान्समा प्रथमपटक भट्टराई संस्थापक प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त भएका थिए। त्यसपछि निरन्तर नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भई कार्यरत थिए। 

विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुखजस्तो नेतृत्वदायी भूमिकामा रहेका भट्टराईले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पनि उचाइमा पुर्याउने विश्वास गर्न सकिने कम्पनीले जनाएको छ। 

 

आइतबार, २४ असार २०८०, १२ : २३

प्रतिक्रिया