युनिलिभर नेपाल लिमिटेडले एक वर्षका लागि नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई प्रायोजन गर्ने भएको छ ।
प्रायोजन सम्बन्धि सम्झौतामा मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभर नेपाल लिमिटेडका प्रतिनिधिले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा एन्फाको तर्फबाट अध्यक्ष पंकज नेम्वाङ र युनिलिभर नेपाल लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक अमलन मुखर्जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार, महिला फुटबलको विकासमा युनिलियर नेपाल लिमिटेडले २५ लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला फुटबलले उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए। उनले खेलकुद क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको धारणा पनि ब्यक्त गरे ।
एन्फाका अध्यक्ष नेम्वाङले वातावरण सकारात्मक रहेमा नेपालको महिला फुटबल टोलीले छिट्टै नै विश्वकप खेल्ने विश्वास ब्यक्त गरे । उनले महिला फुटबलको विकासका लागि एन्फा पनि विशेष कार्यक्रमसहित अगाडि बढिरहेको जानकारी दिए । ‘नेपाली महिला फुटबल खेलाडीको प्रदर्शन उत्कृष्ट छ । एन्फा पनि विशेष कार्यक्रमसहित अगाडि बढेको छ । हाम्रो लक्ष्य भनेको सन् २०२७ वा सन् २०३१ सम्ममा महिला विश्वकपमा नेपाललाई सहभागी गराउने हो । विश्वास छ, हामी आफ्नो लक्ष्यमा सफल हुनेछौं,’ उनले भने ।
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक मुखर्जीले नेपालको महिला फुटबलको विकासमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए । उनले महिला फुटबलको स्तरलाई अझ माथि उठाउन युनिलिभर र एन्फाबीचको सहकार्य महत्वपूणर् सिद्ध हुने विश्वास ब्यक्त गरे ।
‘नेपाली राष्ट्रिय फुटबल टोलीको स्तर अझ माथि उठाउन एन्फासँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ । नेपालको महिला फुटबले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । आगामी दिनमा पनि हाम्रो यो सहकार्यले निरन्तरता पाउने छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पछिल्लो समय महिला फुटबलले पनि पुरुष फुटबल सरह प्राथमिकता पाउँदै गएकोमा खुसी ब्यक्त गरिन् । ठूलो लक्ष्य बोकेर अगाडि बढिरहेको महिला फुटबल खेलाडीको अभियानमा सहयोग पुर्याएकोमा उनले युनिलिभर नेपाल लिमिटेडलाई धन्यवाद पनि दिइन्।
प्रेस विज्ञप्ति जारि गर्दे युनिलिभर नेपालले एन्फासँगको सहकार्यमा सहयोग र प्रवर्द्धनका लागि नजिकबाट काम गर्ने प्रतिवद्धता जाहेर गरेको छ । आफूहरुले सबै पक्षमा महिला फुटबल टोली यसको विकास र सफलतामा योगदान पु¥याउने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया