काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकममा बढाउने तयारी गरेको छ ।
चालु आर्थिक वर्ष २०८० र ८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो । क्षतिपूर्ति बढाएर ९, १० वा १२ लाख कति पुर्याउने भन्ने बारे कार्यविधि बनाएर नै तोक्ने स्रोतको भनाई छ ।
आर्थिक वर्ष २०७४ र ७५ बाट ७ लाख रुपैयाँ क्षतिपूर्ति दिन थालिएको थियो। मन्त्रालयका अनुसार यसै कार्यविधिले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकमलाई समेत वृद्धि गर्ने भएको छ ।
सरकारले शिशु कक्षादेखि कक्षा १२ सम्म पढ्न छात्रवृत्ति दिने गरेको छ । अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति दिइन्छ । ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीले भने वार्षिक १२ हजार रुपैयाँ पाउँदै आएका छन् । यो रकम समेत कति पुग्ने भन्ने बारे कार्यविधिले तोक्ने भएको छ ।
मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्गभङ्ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बन्ने सहसचिव घिमिरेले जानकारी दिए ।
वैदेशिक रोजगार बोर्डको २०७९र ८० को वैशाखसम्मको तथ्यांक अनुसार १० महिनामा १०३२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८र७९ को एक वर्षको अवधिमा १ हजार ४७९ जना श्रमिकको निधन भएको थियो । यो तथ्यांक अनुसार दैनिक औसत चार जना श्रमिकको शव नेपाल भित्रने तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया