नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गरिनुपर्छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

आइतबार, ०३ भदौ २०८०, ०८ : २३


काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक रुपमा जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताएका छन् । 

इन्ट्रा फाउन्डेसनले आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को ग्रान्ड फिनाले कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोचोटि प्रधानमन्त्रीको हैसियतले अगाडि बढाउन सक्दो सहयोग गरेको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । 

‘ग्रान्ड फिनाले कार्यक्रमबाट आज एउटा बलियो सन्देश विश्वभरि सम्प्रेषित भएको छ, एउटा ठूलो सन्देश गएको छ,’ उनले भने, ‘अभियानको सुरुआतकर्ता हुनुको नाताले हामी सम्पूर्ण नेपालीहरू पनि अभियानमा संलग्न सबैप्रति साँच्चिकै हृदयदेखि आभार व्यक्त गर्न पनि चाहन्छौँ ।’ ग्रान्ड फिनाले कार्यक्रम साँच्चिकै गर्व गर्नलायक रहेको र कलाकारले अद्वितीय कला प्रदर्शन गरेको उनको भनाइ छ ।

‘जसरी कला, साहित्य र संस्कृति, बढी भावना र संवेदनशील हुन्छ र धेरै शक्तिशाली हुन्छ, त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो ग्रान्ड फिनाले कार्यक्रम हेर्दै गर्दा प्रस्तुति सुन्दै गर्दा गर्व लागेको छ ।’ कार्यक्रमले संसारभरि रहेका नेपालीलाई भावनात्मक, सांस्कृतिक रूपले, संवेदनाको हिसाबले इतिहासको रूपले एक ठाउँमा जोडेको उनको भनाइ छ । 

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन् ।उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए । उनीहरुले पनि नगद पुरस्कार पाएका छन् । यस्तै मेरो डान्स युनिभर्स’को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेकी छिन् । उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर पाएकी छिन् । यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।

आइतबार, ०३ भदौ २०८०, ०८ : २३

प्रतिक्रिया