काठमाडौँ - १६ औँ संस्करणको एसिया कप क्रिकेट भोलिबाट पाकिस्तानमा चल्दैछ । अगस्त ३० देखि सेप्टेम्बर १७ तारिकसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने खेलका लागि पहिलो पटक नेपाल टिम समेत सहभागी हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेल भोलि बुधबार पाकिस्तान र नेपालबीच मुल्तान खेलमैदान प्रस्पिर्धा हुँदैछ । यसै सन्दर्भमा एसिया कममा पहिलो पटक सहभागी नेपालको खेल हेर्न पाकिस्तान जाने नेपालीहरुको संख्यामा वृद्धि आएको छ । सस्तो प्याकेज टिकट पाएपछि २५० जनाभन्दा बढी नेपालीहरु क्रिकेट हेर्न पाकिस्तान जाँदै गरेको रुप्सी होलिडेज ट्राभल एण्ड टुरले जानकारी दिएको छ ।
रुप्सी होलिडेजमार्फत मात्र १५० जना नेपाली एसिया कप हेर्न पाकिस्तान जाने तयारीमा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रमेश पराजुलीले रातोपाटीसँग बताए ।
‘एसिया कपमा नेपाल पहिलो पटक सहभागी भएको हो । यस्तो अवसरमा नेपाली खेलाडीहरुको हौसला बढाउन पनि सहभागी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । थप खेल प्रेमी दर्शकलाई अवसर दिएर स्पोर्ट टुरिजमको समेत विकास गर्न सकिन्छ भन्ने म्यासेज दिन आवश्यक ठान्यौं र सस्तो प्याकेज प्रदान गयौँ’ सीईओ पराजुलीले रातोपाटीसँग भने ।
कम्पनीले प्रतिव्यक्ति १ लाख २० हजार रुपैयाँदेखि १ लाख ३० हजार रुपैयाँको प्याकेजमा नै पाकिस्तानमा खेल हेर्न जाने सुविधा प्रदान गरिरहेको छ । यस्तो सुविधा नेपाली दर्शकले खान, बस्नसहित खेल हेर्न पाउनेछन् । ५ दिनको प्याकेजका लागि १ लाख २० हजार रुपैयाँ र ७ दिनको प्याकेजका लागि १ लाख ३० हजार रुपैयाँमा सेवा उपलब्ध गराइएको पराजुलीले बताए ।
यस्तै अन्य ट्राभल कम्पनीहरुमार्फत समेत एक सय हाराहारी नेपाली एसिया कप हेर्न पाकिस्तान जाने पराजुलीको भनाइ छ । साथै, नेपाल बाहिर दुबई, कतार, मलेसिया लगायतका देशहरुबाट समेत एसिया कप हेर्न नेपालीहरु पाकिस्तान जाने हुँदा कति नेपालीहरु त्यहाँ पुग्छन् सो भने यकिन नभएको उनको भनाइ छ ।
प्रतिक्रिया