कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

७ महिना अगाडि

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरस्थित काली गण्डकी कोरिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कोरिडोर निर्माणको काम सम्पन्न भई नसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायात कान साधन सञ्चालनमा रोक लगाइएको हो ।

नवलपुरमा काली गण्डकी कोरिडोर करिब ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

‘कोरिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छ’, उनले भने । सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। सञ्चारको पहुँच र कोरिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति सवारीसाधन सञ्चालन गरिने उनले बताए ।

निर्माणाधीन काली गण्डकी कोरिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । उहाँबाट तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत सवारीसाधन सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि यातायातका साधन सञ्चालन हुने गरेका छन् । 

 

७ महिना अगाडि

प्रतिक्रिया